ज्योति लाइफको आइपिओ आज बाडफाट भएको छ।

भेरी खबर Mar 26, 2021

 : ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो।

 

 

योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए। उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।

गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ। योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ।

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो। जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो। यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ। मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।