काठमाडौमा आखा पोल्ने वायु।

भेरी खबर Mar 26, 2021

काठमाडौंमा शुक्रबार बिहान सफा देखिएको वायुमण्डल मध्याह्नपछि एकाएक धुमलियो । अहिले पूरै तुवाँलो लागेकाे छ ।कतिपयले आँखा पोलेको महसुस भएका भन्दै सामाजिक सञ्जालमा पाेस्ट सेयर गरिरहेका छन् । मौसम र देशका विभिन्न ठाउँमा डढेलो लागेका कारण प्रदूषण बढेको वातवरण विभागले जनाएकाे छ ।

‘यो माैसममा यस्तो देखिन्छ । तर, मौसम र डढेलोको कारण प्रदूषण बढेको हुन सक्छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘केही दिनसम्म यो लम्बिन पनि सक्छ । बर्खा नलागेसम्म यो समस्या रहन्छ ।’

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई) तीन सय नकटेको उनले बताए । ‘तुवाँलो लागेको छ । तर, वायू प्रदूषण सूचकांक तीन सय कटेको छैन’, उनले भने ।

एक्यूआई ३ सय १ भन्दा माथिको संख्या देखियो भने उच्च जोखिमको संकेत हो । मौसम पूर्वानुमान महाशाखाले पनि मौसममा बदली भएको जनाएको छ । ‘हावामा प्रदूषण देखिएको छ । धेरै ठाउँमा आगलागी भएकाले समस्या भएको भनिएको छ । आँखा पाेलेको भन्ने कुरा आएको छ । के कारणले भएको हो हामी हेर्दै छौँ’, महाशाखाका एक कर्मचारीले भने ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइछ । गत पुसमा पनि यस्तै तुवाँलाे लागेकाे थियाे । एक्यूआईका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषण सूचकाङ्क न्यूनतम ३ सय ५९ र अधिकतम ४ सय ८ पुगेको थियो ।