लोकसेवा आयोग गठनमा राजनितिक भागबण्डा

भेरी खबर Feb 19, 2021

कर्णाली प्रदेशको लोकसेवा आयोगमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार आयोगका पदाधिकारी नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यद्वय भक्तबहादुर खड्का र वसन्ती सिंह शाही नियुक्त भएका छन् । आयोगमा नियुक्ति भएका तीनैजनालाई बिहीबार नै प्रदेश प्रमुख गोविन्द्रप्रसाद कोलौनीले पद तथा गोपनीयताको शपथ खुवाए । 

भक्त बहादुर खड्का नेकपा ओली समूह र सदस्य बसन्ति सिंह कांग्रेस कोटामा नियुक्त भएका हुन् । अध्यक्षमा रामप्रसाद उपाध्याय सुर्खेत निवासी हुन् । उनी पूर्वक्षेत्रीय शिक्षा निर्देशक समेत हुन भने सिंह कर्णाली प्रदेश प्रतिपक्ष दल कांग्रेसका नेता जीवनबहादुर शाहीकी श्रीमती हुन् । भागबन्डाका आधारमा गठन गरिएको आयोगमा नेता शाहीले आफ्नै श्रीमतीलाई पठाएकोमा आलोचना भएको छ ।  

कर्णाली प्रदेश सरकारले लोकसेवा आयोग ऐन २०७५ पहिलो संशोधनसहित जारी गरेको छ । लोकसेवा ऐनमा भने आयोगको पदाधिकारी बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्तिका वेला कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने प्रावधान छ।