अफगानिस्तानको महिला मन्त्रालयमा पुरुषले मात्रै प्रवेश पाउने

भेरी खबर १ असोज २०७८, शुक्रवार

तालिबानले आफ्नो शासन चलाएसँगै महिलालाई उनीहरूको अधिकार दिनेबारे गरेको वाचा भ्रम सावित भएको छ । बिहीबार तालिबानले महिलामाथि गरेको हर्कतबाटै यसको पुष्टि भएको छ

तालिबानले महिलाका लागि बनाएको मन्त्रालयमा उनीहरूलाई नै प्रवेश निषेध गरेका छन् । ‘मिनिस्ट्रि अफ वुमन अफेयर’ मा  पुरुष कर्मचारीलाईमात्रै प्रवेशको अनुमति दिइएको छ ।

तालिबानका प्रवक्ताले यसअघि महिलालाई क्याबिनेटमा सहभागी नगराइएपनि मन्त्रालयमा भने पहिला जसरी नै काम गर्न दिइने बताएका थिए । यद्यपी उनीहरूले तालिबानले आफ्नो दिशानिर्देशनमा राखे अनुसारको मात्रै कपडा लगाउन पाउने बताइएको थियो । 

रुसको समाचार एजेन्सीले महिलाकै मन्त्रालयमा महिलालाई नै जान नदिएकोबारे खुलासा गरेको हो । उक्त रिपोर्टअनुसार महिला मन्त्रालयमा बिहीबार चारजना कर्मचारी जान खोजेका थिए । उनीहरूसँग आफ्नो परिचयपत्र पनि थियो र उनीहरूले बुर्का लगाएका थिए । त्यत्ति हुँदा पनि उनीहरूलाई भित्र जान दिइएन । 

त्यस घटनापछि दुई महिला कर्मचारीले त्यहाँ रहेका तालिबानका अघि विरोध गरे । पछि उनीहरूलाई दुव्र्यवहार गरी त्यहाँबाट हटाइयो ।

१५ अगस्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाइसकेपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले शरिया कानूनलाई टेकेर महिलालाई शिक्षा र रोजगारको अधिकार दिइने बताएका थिए । त्यसपछि सरकार घोषणा भएपनि उही कुरा दोहोरियो । मुजाहिद अहिले पनि महिलालाई अधिकार दिने विषय नै दोहाेर्याइरहेका हुन्छन् ।

तर, व्यवहारमा भने तालिबानले महिलालाई दिएको आफ्नो कुनै पनि वचन पूरा गरेको छैन । राजधानी काबुललाई छोडेर मुलुकको अन्य ठाउँमा अहिलेसम्म पनि विद्यालय र कलेज पनि खुलेका छैनन् । जहाँ खुलेका छन् त्यहाँ केटा र केटीलाई छुट्टै राखेर पढाइएको छ भने कक्षाको बीचमा पर्दा लगाएर पार्टिसन गरिएको छ । 

यस्ता घटनालाई लिएर सबैभन्दा पहिला हेरात शहरमा महिलाहरूले प्रदर्शन सुरु गरे । त्यतिबेला मिडियाकै अघि तालिबानले महिलाहरूमाथि कुटपिट गरे । त्यसपछि पनि काबूलमा कयौं दिनसम्म यस्तो किसिमको प्रदर्शन भयो । तर, त्यसलाई दबाइयो । 
बिहीबार संयुक्त राष्ट्रसंघका केही अधिकारीले काबूलमा तालिबानका गृहमन्त्री सिराजुद्दिन हक्कानीसँग भेटवार्ता गरेका थिए । रिपोर्टका अनुसार उक्त भेटवार्तामा राष्ट्रसंघका अधिकारीले तालिबानलाई मानवीय सहायता पाउनका लागि पहिला आफ्ना वाचा पूरा गर्न भनेका छन् ।