अमेरिकामाथि नेपालको सानदार जित

भेरी खबर २९ भदौ २०७८, मङ्गलवार

ओपनर कुशल मल्ल र मिडलअर्डर ब्याट्सम्यान रोहितकुमार पौडेलले सानदार ब्याटिङ गरेपछि विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ ।

सोमबार ओमान स्थित अल अमेरात क्रिकेट मैदानमा भएको भएको खेलमा कुशल र रोहित चम्किँदा नेपालले विश्वकप लिग २ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजमा अमेरिकामाथि ५ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै भेट्टायो । नेपालाई सहज जित दिलाउने क्रममा कुशल भुर्तेलले ८४ रनको इनिङ खेले भने रोहितले ६२ रन बनाए ।

९३ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गर्दै ८४ रन बनाएका कुशल ओनपरका रुपमा एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। यो नेपालको एकदिवसीय क्रिकेटका तेस्रो सर्वाधिक उच्च स्कोर हो ।

यस्तै, चौथो नम्बरमा ब्याटिङका लागि आएका रोहितले ८७ बल खेल्दै्र २ चौका र ३ छक्का प्रहार गरे । रोहितको यो एकदिवसीयमा लगतार तेस्रो अर्धशतक हो। यसअघि उनले पपुवा न्युगिनीविरुद्धका सिरिजका दुवै खेलमा अर्धशतक बनाएका थिए ।

यस्तै, नेपालका लागि विनोद भण्डारीले ४८ बलमा ३७ र बनाउँदा आसिफ सेखले ४२ बलमा २३ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १७ रन बनाए । अमेरिकाका सौरभ नेत्रवाल्करले २ तथा निसर्ग पटेलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३० रन मात्र बनाउन सक्यो । उसका लागि मोनक अग्रवालले शतक प्रहार गरेका थिए । अग्रवालले ११४ बलमा १०० रन जोड्दै शतक पूरा गरेका हुन् । उनी एकदिवसीयमा अमेरिकाका लागि शतक बनाउने दोस्रो खेलाडी हुन् ।

सबै फर्म्याटमा भने यो उनको व्यक्तिगत रुपमै तेस्रो शतक हो । उनले आफ्नो पछिल्लो शतक पनि यही मैदानमा बनाएका थिए । युगान्डाविरुद्ध डिभिजन ३ अन्तर्गत भएको खेलमो उनले सो शतक बनाएका थिए ।

अग्रवाल बाहेक अन्य ब्याट्सम्यानले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । अमेरिकाका लागि निसर्ग पटेलले ३९ बलमा २१ रन जोडेर पभेलियन फर्किएका थिए भने ओपनरद्वय सुशान्त मोदनी र स्टिभन टेलरले क्रमशः २८ बलमा १६ रन र १७ बलमा १४ रन जोडेर आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले समान दुई विकेट लिएका थिए भने कुशल मल्लले एक विकेट लिए ।