भारतीय प्रधानमन्त्री माेदीले नेपालको सम्बन्धलाई दाँजे भुटान र माल्दिभ्ससँग

भेरी खबर १६ साउन २०७८, शनिवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्सलाई जोड्दै दाँजेका छन् । कहिले नेपालसँगको सम्बन्धलाई विशेष र भाइ-भाइ भन्‍ने त कहिले रोटी बेटीको सम्बन्ध भन्दै आएको भारतले अहिले भूटानलाई पहिलो त्यसपछि दोस्रोमा नेपाल अनि माल्दिभ्स र मोरिससको नाम लिँदै छिमेकी मात्रै नभएर धेरैका कुरामा यी देशबीच समानता रहेको उल्लेख गरेका छन् । 

उनले नेपाल र भारतबीच १९५० को सन्धीकै वर्षगाठमा यस्तो सन्देश बाहिर ल्याएका हुन् । नेपाल र भारतबीच १९५० जुलाई ३१ मा शान्ति तथा मैत्री सन्धी भएको थियो । सोही दिन पारेर भारतीय प्रधानमन्त्रीले यो प्रकारको सन्देश दिँदा यहाँको कूटनीतिक क्षेत्रमा तरंग उत्पन्‍न भएको हो । कूटनीतिक सर्कलमा यसमा विभिन्‍न तर्क वितर्क आउन थालेका छन् ।

यसको तर्क वितर्क आउनुको कारण हो- भारतले अझै पनि दुवै मुलुकका प्रवुद्ध व्यक्ति समुह (ईपीजी)ले तयार गरेको प्रतिवेदन बुझेको छैन । त्यसलाई बुझ्‍ने या नबुझी कुनै प्रतिक्रिया पनि दिएको छैन । १९५० को सन्धीलागायत अन्य असमान सन्धीलाई परिमार्जनको सुझाव रहेकै कारण त्यसलाई भारतले बेवास्ता गरेको धारणा परराष्ट्र अधिकारीले खुलयाम रूपमा दिइरहेका छन् । 
 
यहाँ जस्तो नेताको मनमा जे आयो त्यो बोल्ने मुलुक होइन भारत । भारतका प्रधानमन्त्रीले यो समयमा आएर यस्ता विषय किन उठाए भन्नेमा परराष्ट्र मन्त्रालय आफैँ आश्चर्यमा परेको छ । यसबारेमा आफ्नै तवरले बुझ्‍न दिल्लीस्थित नेपाली दुतावासलाई आग्रह गरिएको जानकारी परराष्ट्र अधिकारीले दिए । परराष्ट्र अधिकारी भन्छन्, ‘बंगलादेशको नाम लिएका छैनन् तर अन्य मुलुकको नाम लिएर बोल्नुको कारण खोजी हुनपर्छ । किनकी भारतले त्यतीकै त पक्कै छुटाएको होइन ।’ राजनीतिक वृत्तमा यस्ता विषयमा छलफल हुनुपर्ने दलभित्रको परराष्ट्र मामिला हेर्ने विङमा यस्ता विषयलाई बहसमा ल्याउन पर्ने तर गरेको पाइदैन । 

मोदीले ट्‍वीट लेखेको अघिल्लो दिन भारतीय सेनापतिले नेपालसमकक्षी प्रधानसेनापती पूर्णचन्द्र थापासँग टेलिफोन संवादसमेत गरेका छन् । उनले बिदामा बस्‍न लागेका थापालाई उनको कार्यकालमा भएका सहकार्यबारे छलफल भए पनि नेपाल र भारतको सम्बन्ध, सुरक्षा सहकार्य, प्रशिक्षणलगायत विषयमा छलफल भएको थियो । त्यसको भोलिपल्ट मोदीले यस्तो ट्‍वीट गरेका हुन् । 

‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख-दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं,’ मोदीले आफ्नो ट्‍वीटमा लेखेका छन् ।