इतिहास रच्ने दाउमा नेपाल ।

भेरी खबर २७ असोज २०७८, बुधवार

दक्षिण एसियामा सबैभन्दा लोकप्रिय वा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप हाल माल्दिभ्सको राजधानी मालेमा जारी छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम दुई खेल आज हुँदै छ । फाइनलको होडबाजीबाट श्रीलंका बाहिरिसकेको छ भने बाँकीका चार राष्ट्रको सम्भावना भने कायम नै छ । जसमा पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दा आयोजक तथा साविक विजेता राष्ट्र माल्दिभ्सले भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । यसै दुर्भाग्यपूर्ण इतिहासलाई ध्यानमा राख्दै नेपाल नयाँ इतिहास लेख्न चाहन्छ । जारी साफ अन्तर्गत ३ खेलमा माल्दिभ्स र श्रीलंकालाई जित्दा भारतसँग हार व्योहोरेको नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यता एक जित, एक हार र एक बराबरी खेलेको बंगलादेश चार अंकसहित चौथौं स्थानमा रहेको छ । बंगलादेशलाई फाइनल पुग्नका लागि जितको विकल्प छैन भने नेपाललाई भने बराबरी मात्रले पनि पहिलो पटक साफको फाइनल पुग्न काफी हुनेछ । यस्तोमा अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ ।

नेपाल र बंगलादेशको फुटबलको इतिहास हेर्ने हो भने दुई खेलमा बाहेका अन्य सबै खेलमा नतीजा निस्किएको छ । २२ पटक आमने सामने हुँदा बंगलादेशले १३ पटक जित्दा नेपालले जम्मा सात पटक मात्र जित निकाल्न सफल भएको छ । बाँकीका दुई खेल नतीजा बिहीन हुँदै बराबरीमा सकिएको छ । साफकै कुरा गर्ने हो भने पनि सात खेलमा बंगलादेशले चार र नेपालले तीन पटक जित हात पारेको छ । नेपालका लागि सुखद् पक्ष के छ भने ती तीन जित पछिल्लो खेलमा आएको हो । सन् २०११, २०१३ र २०१८ को साफमा महत्वपूर्ण खेलमा बंगलादेशलाइ पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । जुन २०११ मा सागर थापाले खेल सकिन ३० सेकेण्ड अगाडी करिब ३० यार्ड टाढाबाट गरेको घुमाउरो फ्रि किक गोलले अहिले पनि बंगलादेशका फुटबल प्रशंसकलाई पीडादायक छ ।

आज नै हुने अर्काे खेल पनि रोमाञ्चक हुने निश्चित छ । उक्त खेल यसअघि साफको फाइनलमा भिडेका माल्दिभ्स र भारतबीच हुँदै छ । भारत २०१८ साफको फाइनलमा व्योहोरेको बदला लिने लक्ष्य साथ मैदान उत्रदा माल्दिभ्स भने जितको यात्रालाई निरन्तरता दिन चाहन्छ । आजको खेलसम्म आईपुग्दा चारै देशका फुटबल प्रशंसकहरु अन्योलमा छन् । यसैबीच फाइनलेको यात्रा कुन देशले तय गर्ने छ भन्ने थाहा पाउन आज हुने अन्तिम खेलसम्म हेर्नै पर्ने हुन्छ ।

राउण्ड रोबिनको आधारमा खेलाइएको भए पनि आजको खेललाई सेमीफाइनलको नाम दिँदा पनि फरक पर्ने छैन सायद, किनभने यो खेलमा जसले जित्छ त्यसले नै फाइनलको यात्रा तय गर्ने छ । यद्यपि नेपाल र माल्दिभ्सका लागि भने जित बाहेक बराबरीको पनि विकल्प रहेको छ । यदि नेपाल साफको फाइनल पुग्न सके साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।