कोरोना विरुद्धको खोप लगायवापत पैसा दिने निर्णय ।

भेरी खबर १५ साउन २०७८, शुक्रवार

अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्धको खोप लगाउने व्यक्तिलाई १०० अमेरिकी डलर दिने घोषणा गरेका छन् । पछिल्लो समय कोभिड संक्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न बाइडनले प्रतिव्यक्ति १०० डलर रकम दिने घोषणा गरेका हुन् ।

पछिल्लो समय अमेरिकामा तीव्र रुपमा खोप लगाउने अभियान चलाइएपनि मानिसहरुले खोप लगाउन आनाकानी गरिरहेका छन् । यस्तो सोच बढेका बेला बाइडनले खोप लगाउने व्यक्तिलाई रकम दिने घोषणा गरेका हुन् ।बाइडनले जारी गरेको नयाँ निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण उपलब्ध गराउनुपर्नेछ । अमेरिकामा अहिलेसम्म आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लगाएका छन् । बिहीबार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण खोपसम्बन्धि नयाँ निर्देशिका जारी गर्नुपरेको बताएका छन् ।