पुलिसको लगातार तेस्रो जित

भेरी खबर २८ पुष २०७८, बुधवार

विभागीय टिम नेपाल पुलिस क्लब दोस्रो संस्करणको टाइगर कप भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस फाइनल पुगेको हो । यो पुलिसको लगातार तेस्रो जित हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको खेलमा २५–२१, २३–२५,२५–२३ र २५–१९को जितसँगै पुलिस उपाधि होडमा रहेकाे  छ। पुलिस शीर्ष स्थानमा रहेको छ । पुलिसले हेल्प नेपाल, गण्डकी प्रदेशलाईसमेत जितेको थियो ।

 

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०/१० हजारसहित ट्रफी प्रदान गरिने छ  ।