रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई कारबाही

भेरी खबर १२ जेठ २०७८, बुधवार

युरोपियन फुटबल महासंघ (यूईएफए) ले फुटबल क्लबहरू रियल मड्रिड, बार्सिलोना र युभेन्टसलाई कारबाही गर्ने भएको छ । युरोपियन सुपल लिगमा संलग्न भएको भन्दै ती क्लबमाथि यूईएफएले कारबाही गर्ने भएको हो ।

यी तीन क्लबसहित चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटेनहम, एट्लेटिको मड्रिड, इन्टर मिलान र एसी मिलान गरी युरोपका १२ क्लबले आफू संस्थापक रहने गरी संयुक्त विज्ञप्ति जारी गरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए । त्यसको व्यापक विरोध भयो । विश्व फुटबल महासंघ (फिफा) र यूईएफएले चेतावनी दिए ।

त्यसपछि संस्थापकमध्येका ९ क्लबले सुपर लिगबाट आफ्नो नाम फिर्ता लिए । तर, रियल मड्रिड, बार्सिलोना र युभेन्टसले भने नाम फिर्ता लिएनन् । यूईएफएको अनुशासन समितिले छानबिन गरी तीन क्लबमाथि कारबाही गर्ने भएको छ ।

नाम फिर्ता लिएका क्लबले भने यूईएफएका सबै प्रतियोगिता खेल्न पाउने छन् । तीन क्लबमाथि कस्तो कारबाही गर्ने भन्ने अझै खुलाइएको छैन ।