सांसदको काम नीति नियम बनाउने हो ठेक्कापट्टा गर्ने होइन् - रबिन्द्र मिश्र

भेरी खबर Mar 7, 2021

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राजनैतिक अधिकार, सबै प्रकारका विभेद तथा असमानता र विकासका मुद्दा सँगसँगै सन्तुलित रुपमा सम्बोधन गरिनुपर्ने बताएका छन् । त्यसो नगरिए मुलुकमा देखिएका समस्याको समाधान नहुने उनको तर्क छ ।

शनिबार जनकपुरमा आयोजित अन्तरक्रियामा नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंगठनका युवाहरूको प्रश्नको जवाफ दिँदै उनले संरचनागत विभेदको हकमा आन्दोलन र बलिदानी भए पनि विकासको बाटोमा मुलुक धेरै पछाडि परेको औँल्याए ।

पछिल्लो २० वर्षमा धेरै मुलुकले विकासमा फड्को मारेको उनले बताए । साे अवधिमा नेपालका सहरमा अग्ला घर ठडिनुबाहेक शिक्षा, स्वास्थ्य, उद्योग तथा रोजगारीका अवसरको सवालमा खासै परिवर्तन हुन नसकेको उनको भनाइ छ ।

मधेसमा मानव सूचकांकको अवस्था विकट पहाडी जिल्लाकै अनुपातमा रहेको उनले बताए ।तराइमा हुने कृषि तथा फलफूल उत्पादनलाई उद्योगसँग जोडेर आर्थिक समृद्धि तथा रोजगारीका अवसर सिर्जजना गर्नुपर्नेमा उनको जोड थियो ।

सार्वजनिक शिक्षा नि:शुल्क र गुणस्तरीय हुनुपर्ने उनले बताए । ‘निजि विद्यालय विदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन् । सामुदायिक विद्यालयको अवस्था एकदमै दयनीय छ । गुणस्तरीय शिक्षा प्रदान गर्न संसदीय विकास कोष खारेज गरेर शिक्षामा लगानी गर्नुपर्छ,' मिश्रले भने, 'त्यो पैसाले मधेसमा बुढानिलकण्ठ जस्तै ५० वटा विद्यालय बनाउन सकिन्छ । सांसदको काम नीति नियम बनाउने हो ठेक्कापट्टा गर्ने होइन् ।’