ब्रेकिङ न्युज :

शेयर कारोबारले घर जग्गा कारोबारवाट उठ्ने पूँजीगत लाभकरलाई जित्यो

भेरी खबर Feb 16, 2021

चालु आर्थिक वर्षको सुरु देखिनै घर जग्गा र शेयर कारोबारबाट उठ्ने पूँजीगत लाभकरको प्रतिस्पर्धामा माघमा शेयर कारोबारले घर जग्गालाई उछिनेको छ। माघमा  घर जग्गालाई शेयर कारोबारले ०.३७ प्रतिशतले पूँजीगत लाभकरको उठतीमा उछिनेको हो। 

माघ महिनमा मात्रै देशभरी भएको घर जग्गा कारोबारबाट सरकारले पूँजीगत लाभकर स्वरुप एक अर्ब ७० करोड ८४ लाख रुपैयाँ उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी विष्णुकुमार महतले जानकारी दिए। जव कि उता शेयर कारोबारबाट गत माघ महिनामा एक अर्ब ७१ करोड ८४ लाख रुपैयाँ उठेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएसि)का प्रवक्ता शुरेश न्यौपानेले बताएका छन्।

दुबै निकायले दिएको जानकारी अनुसार माघ महिनामा घर जग्गा कारोबारवाट उठ्ने पूँजीगत लाभकर भन्दा शेयर कारोबार बाट उठ्ने लाभकर बढी देखिएको छ। माघ महिनामा घर जग्गाबाट भन्दा शेयर कारोबारबाट ६४ लाख रुपैयाँ बढी संकलन भएको छ।जुन ०.३७ प्रतिशत बढी हो।

चालु आर्थिक बर्षको पूँजीगत लाभकर संकलनमा भने घर जग्गा कारोबार नै बढी छ। चालु आर्थिक बर्षको माघ मसान्तसम्म घर जग्गा कारोबारबाट सात अर्ब ६० करोड रुपैयाँ लाभकर संकलन भइ सकेको छ। उता शेयर बजारबाट भने पाँच अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ। घर जग्गा कारोबारले एक अर्ब ७२ करोड रुपैयाँको अग्रतासहित शेयर कारोबारलाई पछि पारेको छ। जुन २२.६५ प्रतिशतको अन्तर हो।

तर गत बर्षको तुलनामा भने शेयर कारोबारले उल्लेख्य प्रगति गरेको छ। गत बर्ष शेयर कारोबारबाट बर्ष भरिमा जम्मा एक अर्ब एक करोड ९३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो। तर यो आर्थिक बर्षको माघसम्म मै शेयर कारोबारवाट पाँच अर्ब ८८ करोड रुपैयाँ उठिसकेको छ। जुन गत बर्षको तुलनामा ५७७.३३ प्रतिशत बढी हो।

यता घर जग्गा कारोबारबाट प्राप्त हुने पूँजीगत लाभकरमा समेत उल्लेख्य बृद्धि देखिएको छ। गत बर्ष भरीमा उठेको लाभकर जति माघ महिना सम्ममै उठिसकेको छ।   

गत बर्ष घर जग्गा कारोबारबाट सात अर्ब ९२ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो। चालु आर्थिक बर्षको माघ महिना मसान्तसम्ममा सात अर्ब ६० करोड रुपैयाँ उठेको छ। जुन गत बर्षभरीको तुलनामा ९६.०६ प्रतिशत हो।

यस आधारमा शेयर कारोबारबाट उठ्ने बृद्धिदरलाइ मापन गर्दा शेयर कारोबारको बृद्धि दर निकै माथि देखिएको छ। घर जग्गाले ९६.०६ प्रतिशत लाभकर संकलन गर्दा शेयर कारोबारले ५७७.३३ प्रतिशत बढी लाभकर संकलन गरेको छ। 

पछिल्लो समय शेयर बजार लगातार बढ्दै जाँदा लगानीकर्ताको शेयरको मूल्य प्रशस्त बढ्दै गएको छ। चालु आर्थिक बर्षको माघसम्ममा लगानीकर्ताले करिब ९४ अर्ब रुपैयाँ नाफा गरेका छन्। सोही नाफाबाट उनीहरुले पाँच अर्ब ८८ करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएका हुन्। शेयर कारोबारमा सरकारले नाफामा मात्रै पूँजीगत लाभकर लिने गर्छ। यहि आधारमा उनीहरुले त्यति रकम बराबरको नाफा गरेको देखिएको हो। शेयर कारोबारमा संस्थागत लगानीकर्ताले साढे सात प्रतिशत र व्यक्तिगत लगानीकर्ताले पाँच प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्छ।

आन्तरिक राजस्व विभागका अनुसार पूँजीगत लाभकर भनेको "आफूले लगानी गरेको पूँजी वृद्धि भएपछि राज्यलाई केही प्रतिशत करको रूपमा दिनु हो, घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पूँजीगत लाभमा व्यक्ति तथा एकलौटी फर्मलाई लाग्ने कर यसमा पर्दछ।"