टेलिकमको फोरजी भ्वाइस सेवा शुरु

भेरी खबर May 17, 2021

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आज (सोमबार) देखि फोरजी भ्वाइस सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा टेलिकमले आजबाट प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा यो सेवाको परीक्षण शुरुवात गरेको प्रवक्ता राजेश जोशीले बताउनुभयो ।

टेलिकमले आफ्नो सेवालाई समयनुकुल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ र्टम इभोलुसन (भोल्ट) सेवा सञ्चालनमा ल्याएको जोशीले जानकारी दिनुभयो ।
यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता बड्ने टेलिकमले जनाएको छ ।
यो सेवा प्राप्त गर्न आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याज डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा एक्टिभेट गर्न सकिने जनाएको छ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोल्ट कल फर एनटिसी सिम समेत इनेबल गर्नु पर्ने टेलिकमले जनाएको छ ।

मोबाइल सेटको माथिल्लो लहरमा भोल्टको संकेत देखा परे पछि स्टार १११ ह्याज डायल गरे पछि यो सेवा लिन सकिन्छ । २८ दिनसम्म प्रयोग गर्न सकिने यो सेवा एक सय मिनेट भोल्ट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।