विश्वकप छनौट : फ्रान्सको जितमा चम्किए ग्रीजम्यान

भेरी खबर २३ भदौ २०७८, बुधवार

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जारी छनौट खेलमा युरोपियन देश फ्रान्सले सहज जित जित निकालेको छ । गत राति भएको आफ्नो छैटौं खेलमा फ्रान्सले पाहुना टोली फिनल्यान्डमाथि २–० को एकपक्षीय जित दर्ता गरेको हो । आफ्नो घरेलु मैदानमा फ्रान्सलाई जिताउन फरवार्ड एन्टोनी ग्रीज्म्यान नायक बने ।स्पेनिस क्लब बार्सिलोनाबाट लखेटिएका ग्रीजम्यान पछिल्लो समय फ्रान्सको टोलीमा शानदार लयमा खेलिरहेका छन् । उनले यस चरणमा मात्रै ३ खेलबाट ३ गोल र १ असिस्ट पनि गरेका छन् । यसै समर विन्डोमा उनलाई बार्सिलोनलो पूर्वक्लब एथ्लेटिको मड्रिडमा एक वर्षे लोन सम्झौतामा पठाएको छ ।फिनल्यान्डमाथि पूराका पूरा पकड जमाएको फ्रान्सका लागि पहिलो गोल खेलको २५औं मिनेटमा ग्रीजम्यानले गरेका थिए । करिम बेन्जेमाको पासमा उनले गरेको सोही गोलबाट फ्रान्सले घरेलु मैदानमा अग्रता लिएको थियो । त्यसपछि दोस्रो गोल पनि ग्रीजम्यानले नै गरे । यसपटक उनले खेलको ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेल २–० बनाए ।तर, त्यसपछि बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन सकेन । र, खेल फ्रान्सले २–० ले जित्यो । फिनल्यान्डविरुद्ध फ्रान्सले ६५ प्रतिशत बल पकडमा राखेर ७५१ पास पूरा गर्दा २० प्रहार गरेको थियो । फ्रान्सका लागि विश्वकप छनौटमा यो तेस्रो जित हो । उसले ६ खेलमध्ये खेल जितेर ३ खेल बराबरी गरेको छ, अपराजित रहँदै । फ्रान्स १२ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेकोा युक्रेनको मात्रै ५ अंक रहेको छ ।